Saturday 12 May 2012

प्रचण्डले अकस्मात् किन पठाए यस्तो प्रस्ताव ?

काठमाडौं । एमालेलाई राप्रपा बनाउने, देउवालाई देखाएर रामचन्द्रको बाटो छेक्ने र सुशीललाई प्रधानमन्त्री बनाउने । अर्कोतिर वैद्य र बाबुरामबीच झगडा चर्काएर माओवादीलाई साइजमा ल्याउने योजनाअन्तर्गत त अहिले अनेक गोटी चालिँदै छैन ? एउटा संगीन प्रश्न नेपाली राजनीतिक रंगमञ्चमा छाएको छ । प्रचण्डले १४ जेठभित्र संविधान नबन्न पनि सक्छ र बाबुरामले असोजसम्म सरकारलाई निरन्तरता दिन सक्छन् भनेर वैद्य पक्षलाई पठाएको सन्देशका पछाडि कुनै रहस्य छ ? यो उत्तिकै महŒवपूर्ण अर्को प्रश्न हो ।रामशरण महतको नाम काटेर कृष्णप्रसाद सिटौला कसरी बाबुराम नेतृत्वको सरकारमा सामेल हुन सफल भए ? दिल्लीका निम्ति दौडिरहने अमरेशकुमार सिंहले ‘सबै कुरा मैले पार लगाएँ । आहा ! बल्ल फुर्सद पाइयो । क्या सन्तुष्टि मिल्यो । प्रचण्डजी लुरुलुरु ट्र्याकमा हिँडेका छन्’ भन्दै छाती ठोकी हिँड्नुका पछाडिको वास्तविकता के हो ? यी यस्ता प्रश्न हुन्, जसको उत्तर नखोजी नेपालको राजनीतिले आउँदा दिनमा कुन दिशा पक्रन्छ भन्ने निक्र्योल गर्न सकिँदैन । उपर्युक्त सम्पूर्ण प्रश्न उब्जिनुको कारण हो– प्रचण्डले वैद्यपक्षलाई पठाएको सन्देश, जुन यसप्रकार छ ः ‘समीक्षा गर्दै जाँदा हामीले गरेको निर्णय महान् भूल (ब्लन्डर) पनि सावित हुन सक्छ । नयाँ ढंगले यसको समीक्षा गरौंला ।’ नकारात्मक सम्भावनाबाट थालनी भएको उनको सन्देशमा अगाडि भनिएको छ, ‘संविधान तोकिएको समयमा नबन्ने सम्भावना पनि उत्तिकै छ । बाबुरामसँग वार्ता गरे पनि, जयन्तप्रसादसँग संवाद गरे पनि कुरो एउटै हो । सिटौला र अमरेशसँग भन्दा सीधै जयन्तप्रसादसँग कुरा गर्नु सजिलो ।’ यसरी बाबुराम, सिटौला र अमरेशलाई भारतीय दूतका रूपमा चित्रण गरेर उनले वैद्य पक्षको दिलखुस गर्ने प्रयत्न पनि सन्देशमा गरेका छन् ।
स्रोतका अनुसार बाबुरामलाई भारतपरस्त भनी पहिलेदेखि नै आरोप लगाउँदै आएका र बाबुरामले भारतसँग गरेको बिप्पामा राष्ट्रघात भएको भन्दै सडकसमेत तताएका वैद्यपक्षको मनोभावना (सेन्टिमेन्ट) लाई ध्यान दिएर उनले ‘बाबुराम र जयन्त जोसँग कुरा गरे पनि एउटै हो’ भनेका हुन् । पानी बाराबारको अवस्थामा पुगेको वैद्य पक्षलाई कन्भिन्स गर्ने कोसिसस्वरुप उनले सन्देशमा ‘चुनावतिर गए पनि वा नयाँ ढंगले गए पनि जेठ १५ पछि सोचौंला तर आखिरमा मिल्ने र अगाडि बढ्ने भनेको तपाईं–हामी नै हौं । जसरी पनि यो प्रक्रिया (कोर्स) टुंग्याउनैपथ्र्यो, त्यो भयो’ भनेका छन् । वैद्य र प्रचण्ड गुट मिलेर पछि बाबुरामलाई एक्लै पार्ने आशयसहितको उक्त सन्देशमा ‘आजसम्म जे–जे भयो–भयो, हामीले स्थितिलाई ठीक ढंगले लान सकेनौ“ भने बाबुरामले कम्तीमा असोजसम्म सरकारलाई निरन्तरता दिन सक्छन्’ भन्ने कुरा पनि प्रचण्डले उल्लेख गरेका छन् । पछिल्लो राजनीतिक समीकरणमा भारतीय हस्तक्षेप भएको र माओवादी र कांग्रेसका शीर्ष नेताहरूको निर्णायक बैठकमा समेत राजदूत जयन्तप्रसादको उपस्थिति रहेको चर्चाका बीच प्रचण्डले जयन्तप्रसादसँग भएको उक्त उठबसको औचित्यतासमेत विशेष रूपमा पुष्टि गर्ने प्रयत्न सन्देशमार्फत गरेका छन् । प्रचण्डले भनेका छन्, ‘मैले पहिल्यै (नयाँ बानेश्वरको सभामा दुई वर्षअगाडि) सार्वजनिक रूपमा दिल्लीसँग सीधै वार्ता गर्छु भनेकै थिएँ । हो, अहिले जयन्तप्रसादसँग त्यही गरिएको हो ।’
प्रचण्डले वैद्यपक्षलाई पठाएको पछिल्लो सन्देशलाई विश्लेषकहरूले विभिन्न कोणबाट बुझ्ने प्रयास गरिरहेका छन् । धेरैको अनुमान के छ भने यो वैद्य पक्षलाई तर्साउन गरिएको एउटा प्रयत्न हो । केहीले भने प्रचण्डको यो भनाइ सत्य पनि हुनसक्ने दाबी गरेका छन् । प्रचण्डको पछिल्लो कुरा बुझ्न जटिल पार्ने वाक्यचाहिँ ‘तपाईंहरू ओलीलाई बोकेर हिँड्नुहुन्छ । हामीले मात्र किन घुमाएर कुरा गर्ने ? इन्डियासँग सीधा कूटनीतिक लडाइँ लड्ने हो ।’ यो प्रचण्डको भारतसँगको लडाइँ हो कि भक्ति ? त्यो हेर्न केही समय पर्खनैपर्ने हुन्छ ।’

No comments:

Post a Comment