Saturday 12 May 2012

प्रहरीविरुद्ध गृहमन्त्रीकै वक्तव्य


काठमाडौ, वैशाख ३०

 - उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पदीय हैसियत बिर्सिएर आफ्नै मातहतका प्रहरी कर्मचारीविरुद्ध वक्तव्य जारी गरेका छन् । नवलपरासीको कावासोतीमा बुधबार भएको गोलीकाण्डलाई लिएर उनले आफ्नो सरकारी हैसियतविपरीत प्रहरी र स्थानीय प्रशासनविरुद्ध वक्तव्य जारी गरेका हुन् ।वक्तव्य निकाल्नेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक गच्छदारसहित बहालवाल चार मन्त्री छन् । उनीहरूको वक्तव्यमा थारू समुदायको आन्दोलनमा प्रहरी प्रशासनले बर्बर दमन गरेको उल्लेख छ ।'थारू समुदायले सुरु गरेको यस न्यायपूर्ण आन्दोलनलाई दबाउन हाल प्रहरी प्रशासनबाट भइरहेको बर्बर दमनको मोर्चा कडा भत्र्सना गर्दछ,' गृहमन्त्री गच्छदारसहित नेताहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ ।वक्तव्यमा 'केही उदण्ड असामाजिक तथा संघीयताविरोधी तत्त्वहरूबाट थारू संग्रहालय जलाउनेजस्ता साम्प्रदायिक सद्‍भाव खल्बल्याउने हर्कत' भएको भन्दै भत्र्सना गरिएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग माग पनि गरिएको छ ।सरकारसँग उपचार खर्च माग गर्नेमा गृहमन्त्री गच्छदारबाहेक भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, सञ्चारमन्त्री राजकिशोर यादव, सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव र स्वास्थ्यमन्त्री राजेन्द्र महतो छन् । वक्तव्यमा उनीहरूले क्रमशः मधेसी फोरम लोकतान्त्रिक अध्यक्ष, तमलोपा उपाध्यक्ष, मधेसी फोरम गणतान्त्रिक कार्यवाहक अध्यक्ष, तमलोपा नेपाल अध्यक्ष र सद्भावना पार्टी अध्यक्षको हैसियत उल्लेख गरेका छन् ।एक प्रहरी अधिकृतले गुनासो गरे, 'आवश्यकताभन्दा बढी बल प्रयोग भएको भए गृहमन्त्रीले छानबिन गर्ने हो, आफैं वक्तव्यबाजी गर्दै हिँड्ने होइन ।' गृहमन्त्री र मन्त्रीहरू समग्र राज्यको नभई समुुदायविशेषको मात्र बन्न खोजेको उनले बताए । भने,   'गृहमन्त्रीको वक्तव्यले जातीय सद्भाव बिथोल्न पो ऊर्जा थपेको छ ।'बुटवलमा आयोजित भेलातर्फ जाँदै गरेका क्षत्री, ब्राह्मण संगठनका कार्यकर्ता र नवलपरासी बन्द गरेका थारू संघर्ष समितिका समर्थकबीच मंगलबार झडप भएको थियो । त्यस क्रममा सडक छेउ रहेको थारू संग्रहालयमा पनि तोडफोड र आगजनी गरिएको थियो जसको विरोधमा बुधबार पनि नवलपरासी बन्द गरियो । त्यस दिन कावासोतीमा दुई पक्षबीच झडप हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । आफैंमाथि आक्रमण हुन थालेपछि त्यहाँ प्रहरीले गोली चलाएको थियो ।झडपका क्रममा दुुई प्रहरी निरीक्षक उमेश लम्साल र डिल्लीनारायण पाण्डेसहित सात प्रहरी गम्भीर घाइते भएका थिए । आन्दोलनकारीले प्रहरीको छ राउन्ड गोलीसहितको पेस्तोलसमेत खोसेका थिए । तर गृहमन्त्रीलगायत मन्त्रीहरूले एकपक्षीय विज्ञप्ति निकालेकोमा स्थानीय अधिकारीहरू असन्तुष्ट छन् ।

No comments:

Post a Comment